
बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किएको छ । स्थानीय अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको बताएका छन्। उद्धार कार्य जारी छ। पोटास्को नदीमा बनेको यो पुल तीन किलोमिटर लामो छ ।
अहिलेसम्म कसैको मृत्यु भएको आधिकारिक पुष्टि भएको छैन । बाल्टिमोर फायर डिपार्टमेन्टका प्रवक्ताले बाल्टिमोर पुल दुर्घटनामा ‘केही व्यक्तिको मृत्यु भएको हुनसक्ने’ बताएका छन्। बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सजेस्कीले फ्रान्सिस स्कट ब्रिज भत्केपछि उद्धार कार्य जारी रहेको बताए ।
उनले भने, ‘म स्थिति बारे सचेत छु र दमकल र आपत्कालीन सेवाको सम्पर्कमा छु।’ स्थानीय समय अनुसार राति १ः३० बजे यो घटना भएको हो । यो जहाज ३ सय मिटर लामो थियो र यो श्रीलङ्का जाँदै थियो। त्यसमा सिंगापुरको झण्डा राखिएको थियो ।
बेथानचोक / बेथानचोक गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीले अटोमेटिक कार बनाएका छन् ।
गाउँपालिकाले संचालन गरेको रोबोटिक्स तालिम लिएका उनिहरुले प्रबिधीको प्रयोग गरेर अटोमेटिक कार, स्मार्ट डस्ट्विन लगायतका सामाग्री तयार गरेका हुन् ।‘सामान भयो भने अब घरमा नै बनाउन सक्छौं,’ तालिममा सहभागी वडा नम्बर १ को भैरव मावीका सुदर्शन लोप्चनले भने, ञतालिमले धेरै ज्ञान र सीप बढायो, यसको प्रयोग अन्य सामाग्री बनाउन पनि प्रयोग गर्छौं ।
प्रबिधिमैत्री र सिपमुलक शिक्षा दिने उद्देश्यले बेथान्चोक गाउँपालिकाले रोबोटिक्स तालिम सन्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत पुष्पा राईले जानकारी दिइन् ।रोबोटिक्स क्लव गुजरातका अध्यक्ष प्रशान्त चौधरी, प्रिन्स चौधरी र रोवोटिक्स क्लब अफ काठमाडौं युनिभर्सिटीका सक्षम श्रेष्ठले ३ दिन सम्म तालिम दिएका थिए ।
तीन दिनको प्रशिक्षणमा ब्लुतुथ कन्ट्रोल कार, स्मार्ट डस्ट्विन र होम अटोमेसन बनाउन सिकाएको प्रशिक्षक प्रशान्त चौधरीले बताए । ‘तीन दिनको तालिममा विभिन्न एप, प्रोगामिङ, मोटर र सेन्सरको प्रयोग गरेर ती सामाग्री तयार गर्न सिकेका छन् झ उनले भने, ‘त्यही प्रविधी र सीप प्रयोग गरेर अन्य उपकरण पनि बनाउने बताएका छन् । ‘ चक्रेश्वर मा .बी कक्षा ९ मा अध्यनरत अल्वर्ट दाहालले तिहारमा प्रयोग हुने झिलीमिलि बत्ति आफै बनाएर अर्को पटक प्रयोग गर्ने बताए ।गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथानचोकलाई नवप्रवर्तनको केन्द्र बनाएर युवा, विद्यार्थीहरुलाई अन्वेषण, अनुसन्धानमा लगाइने बताए ।
तालढुंगा \ खानीखोला गाउँपालिकाले प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा खानीखोला गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको हो ।
चालु आर्थिक बर्षको ३ महिनाको अवधीमा भएको आर्थिक, भौतिक प्रगतिको समिक्षा गरिएको हो । खानीखोला गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले प्रस्तुती गरेका थिए । भौगोलिक, सामाजिक, भौतिक, आर्थिक विकासको हिसाबले गाउँपालिका पछि परेको भन्दै उनले चुनौती सामना गर्दै विकासको बाटोमा अघि बढिरहेको बताए ।
बाग्मती प्रदेश सभाका पूर्वमन्त्री रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले बहुबर्षिय आयोजनाको रुपमा अघि बढेको बिपि राजमार्ग बाट महाभारत-खानीखोला हुँदै प्रदेश राजधानी जोड्ने सडक सो क्षेत्रको बिकासको लागि कोशेढुङ्गा साबित हुने बताए ।
बाग्मती प्रदेशको सघन सहरी बिकास कार्यक्रम खानीखोलामा लागू भएको भन्दै उनले खानिखोलाको केन्द्र तालढुङ्गा हुँदै सिक्रेदोभानबाट हेटौंडा जोड्ने सडकमा पनि बहुबर्षिय ठेक्का हुन लागेको भन्दै ढुक्क हुन आग्रह गरे ।
जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले नागरिकको झुपडीमा अझै गणतन्त्र नआएको भन्दै जनताले अनुभुती नगरिकन गणतन्त्र नआउने बताए । खानिखोलाको बिकासको लागि खानीखोला-तालढुङ्गा सडक बन्नुपर्ने तर्क गर्दै आगामी बजेटमा प्राथमिकता दिन संघीय र प्रदेश सभा सदस्यहरुलाई अनुरोध गरे ।
जिल्लाका १३ वटै स्थानीयलाई ६ वटा कल्ष्टरमा विभाजन गरेर प्रथम त्रैमासिक अवधीको समिक्षा गरिदै आएको बताए ।
जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले खानीखोलाको समृद्धिको लागि आयआर्जनमा जोड दिनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जनताको अधिकतम हित र सुबिधालाई ध्यान दिएर सेवा प्रवाह गर्नुपर्ने बताए ।
गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले जनप्रतिनिधी र सरकारी कार्यलयका प्रमुखहरुलाई खानीखोलाको विकासको लागि एकजुट भएर लाग्न अनुरोध गरे ।
नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले खानीखोलाको बिकटता बिस्तारै सुगमतातर्फ अघि बढेको भन्दै सबै क्षेत्र एकजुट भएर यहाँको बिकासको लागि लाग्नु पर्ने बताए ।
च्याल्टी । बेथानचोक गाउँपालिकाद्वारा आयोजित अन्तर आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
वडा नं. ५ मा रहेको आत्मा विकास माध्यमिक विद्यालयको संयोजनमा कक्षा ६ देखि ८ सम्म सञ्चालित हाजिरीजवाफमा पार्वती मा.वि. प्रथम कृष्ण गोपाल मा.वि. द्वितीय एवम् भूमिमाता मा.वि. तृतीय भएको छ । यस्तै चक्रेश्वर मा.वि.ले सान्त्वनामा चित्त बुझाएको छ । यस्तै चित्रकला ( कक्षा १–५) तर्फ पार्वती मा.वि प्रथम भएको छ भने भीमसेनेश्वर मा.वि., द्वितीय, सरस्वती मा.वि. भुग्देउ तृतीय भए । गोरखनाथ प्रा.वि.ले सान्त्वना स्थान हासिल गरेको छ । कार्यक्रममा विजयीहरुलाई पुरस्कार एवम् प्रमाणपत्र वितरण गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले पालिकास्तरमा हुने यस प्रकारका प्रतिस्पर्धात्मक प्रतियोगिताले बेथानचोकका विद्यार्थीहरु देशैभरका ७ सय ५३ वटै पालिकामा रहेको विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्षम हुने बताउनु भयो ।
उहाँले अभिभावकहरुसँग कार्यक्रमहरु सुझावका रुपमा माग्दै रचनात्मक कार्यक्रमहरु शैक्षिक क्यालेण्डर बनाएर अघि बढ्ने बताउनु भयो । उहाँले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक शिक्षा पनि प्रदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबाले उहाले मानव जीवनमा शिक्षाको महत्व धेरै भएकाले वैज्ञानिक शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको भन्दै पालिका स्तरीय प्रतिस्पर्धाले प्रतिभा उत्पादन हुने बताउनु भयो । उहाँले गाउँपालिकाले विभिन्न गतिविधि छुट्टा छुट्टै वडाहरुमा गरिदैजाने नीति लिएकोमा यी २ प्रतियोगिता आफ्नो वडामा सञ्चालन गरेको जानकारी दिनुभयो । कार्यक्रममा आत्माविकास माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जगत तामाङले कार्यक्रम सफल पार्न सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, ६ नं. वडाका अध्यक्ष विष्णु तामाङ, बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राइलगायतको उपस्थिति रहेको थियो ।
ढुंखर्क । बेथानचोक गाउँपालिकाका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तथा सार्वजनिक भाषण कलासम्बन्धि तालिम दिइएको छ ।
लायन्स क्लब अफ काठमाण्डौं प्रोस्पेरिटी तथा पार्वती माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सञ्चालित तालिममा ३ वटा विद्यालयका विद्यार्थीहरुलाई तालिम दिइएको पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुको बहुआयामिक विकासका लागि बिदाको समयमा यस प्रकारका तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जीवनपयोगी तालिम सञ्चालन गरेकोमा विद्यालयलाई धन्यवाद दिनुभयो । व्यक्तित्व विकास तथा प्रभावकारी सञ्चारका लागि वक्तृत्वकला मानव जीवनको अभिन्न पाटो रहेकोले तालिमले विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा टेवा दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले यसप्रकारका कार्यक्रमलाई वडा कार्यालयले पनि सहयोग गर्दै जाने बताउनुभयो । साथै अभिभावक शिक्षालाई पनि सँगै लान वडा अध्यक्ष तिमल्सिनाले विद्यालयलाई सुझाव दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारप्रसाद घिमिरेले किताब भन्दा बाहिर पनि सिकाइका विविध आयाम हुुने भएकाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि यस प्रकारका गतिविधिलाई तालिका नै बनाएर अघि बढ्ने बताउनुभयो ।
सरस्वती माध्यमिक विद्यालय, पार्वती माध्यमिक विद्यालय र पार्वती माध्यमिक विद्यालय गरी तीनवटा विद्यालयका ३८ जना विद्यार्थीहरु तालिममा सहभागि थिए ।
ढुंखर्क । बेथानचोक गाउँपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न भएको छ । फागुन २ देखि ९ गतेसम्म सञ्चालित तालिममा गाउँपालिकाका ६ वटै वडाका गरी ३० जनालाई तालिम दिइएको न्यायिक समिति संयोजक एवं उपाध्यक्ष गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिनुभयो ।
बुधबार तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै उहाँले तालिम लिएसँगै संवादका माध्यमबाट समाधान खोज्न सक्नु पर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेको न्यायिक समितिले विवाद निरुपण गर्ने अधिकार राख्ने मात्र नभई नागरिकमा न्याय घरदैलोसम्म पु¥याई सामाजिक सदभाव कायम गर्ने भएकाले समाजमा विद्यमान समस्याहरुलाई मिलाउने भएकाले मेलमिलापकर्ताहरुले मुद्दा मिलिसकेपछि तुषका खाटा समेत नबस्ने खालको वातावरण सिर्जना हुनेगरी काम गर्नुपर्ने धारणा राख्नुभयो । चालु वर्षमा जिल्लाका १३ वटै स्थानीय पालिकामध्ये न्याय सम्पादनमा बेथानचोक पहिलो भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । यस आर्थिक वर्षमा कूल ३६ वटा मुद्दा आएकोमा १० वटा मौखिक मिलान भएका, २६ वटा मुद्दा दर्ता भएका, १० वटा मिलापत्र भएको, ८ वटा निर्णय फैसला भएको, २ वटा डिसमिस भएका, एउटा खारेज भएको, २ वटा मुद्दा फिर्ता भएको र ३ वटा मुद्दा चालु रहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले समितिलाई दिएको क्षेत्राधिकारको प्रभावकारी प्रयोग, अपनाउने कार्यविधिको मापदण्ड, स्वच्छ सुनुवाइ र निष्पक्ष भूमिका निर्वाह गर्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले सुशासनका गतिविधिहरुमा बेथानचोक गाउँपालिका काभ्रेका गाउँपालिकाहरुमा पहिलो स्थानमा रहेको बताउनु भयो । यस्तै जिल्ला भरीको सुशासन, सेवाप्रवाह, भौतिक पूर्वाधार, आर्थिक प्रशासन लगायतका मापनहरुमार्फत हुने संस्थागत स्वमुल्यांकन (लिजा) मा जिल्ला मै नगर र गाउँपालिकाहरुमा प्रथम भएको बताउनु भयो ।
कार्यक्रममा मुख्य प्रशिक्षक रमिला हुमागाईले सबैले जित्ने वातावरण बनाएर काम गर्न र फाटेका सम्बन्धनाई सियोले झैं जोडेर राख्ने वातावरण बनाउन आग्रह गर्नुभयो । सहभागिका कैलाश तिमल्सिनाले तालिमले कतिपय नबुझेका कुरामा स्पष्टता मिलेको बताउनुभयो । सो अवसरमा गाउपालिकाका कुनै पनि वडामा विवाद नहोस् भन्ने कुरामा गाउँपालिका प्रतिवद्ध रहेको बताउँदै तालिममा सिकेको ज्ञानले समाजमा हार्दिकताका साथ मेलमिलाप कायम राख्न, समुदायस्तरमा न्यायिक मेलमिलापका लागि कार्य गर्न सहज होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको न्यायिक शाखा प्रमुख श्री कृष्ण तिमल्सिनाले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष एवम् न्यायिक समिति सदस्य कुबेर ढकाल, न्यायिक समिति सदस्य एवं कार्यपालिका सदस्य दिल कुमारी तामाङ लगायतको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण शान्तिका लागि सहकार्य संस्था, नेपालले गरेको थियो ।
गोलगाउँ / बेथानचोक गाउँपालिका वडा नं. ६ स्थित गोलगाउँमा रहेको बालउन्नति आधारभूत विद्यालयले आफ्नो स्थापनाको ६४औ दिवस विविध कार्यक्रम बीच मनाएको छ ।
विद्यार्थीहरुले विभिन्न प्रतिभा प्रस्तुत गरेका कार्यक्रममा वर्ष भरीमा विभिन्न गतिविधिमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई वडा अध्यक्ष बिष्णु तामाङले पुरस्कार वितरण गर्नु भएको थियो । सो क्रममा उहाँले वडा भरीका विद्यालयहरुलाई शिक्षण सिकाइसँगै अतिरिक्त क्रियाकलापमा जोड दिन आग्रह गर्नुभयो । सामुदायिक विद्यालयका शैक्षिक गतिविधिमा गाउँपालिकाले लगानी थप्दै गएकोले भावी दिनहरुमा पनि लगानी थप्दै जाने विश्वास दिलाउँदै थप मिहेनत गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
अभिभावकलाई पनि विभिन्न गतिविधिमा संलग्न गराईएको कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक रेखा रानाले आफ्नो प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले सिमित साधन स्रोतका विच उत्कृष्ट शिक्षण सिकाइका लागि आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर तामाङले वार्षिकोत्सव समारोहले अभिभावकलाई विद्यालयसम्म ल्याउन मौका मिलेको र अभिभावकको जमघट हुने प्रकारका गतिविधि समय समयमा गरिदै जाने बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समितिका पदाधिकारी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
बेथानचोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्याम्पसले आफ्नो ११औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गाउँपालिककाकै गौरवको रुपमा रहेको एकमात्र क्याम्पसले नयाँ वर्षारम्भ गरेकोमा शुभकामना दिनुभयो ।
ग्रामिण भेगमा रहेको क्याम्पसका आफ्नै किसिमको समस्या हुने भन्दै त्यसका अलावा,दिनानुदिन विद्यार्थीहरु विदेशिने समस्याले भावी दिनहरुमा चुनौति बढ्ने बताउनुभयो । उहाँले शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनु पर्ने भन्दै जीवनपयोगी शिक्षा दिन क्याम्पस टिमलाई आग्रह गर्नुभयो । उहाँले गाउँपालिकाले क्याम्पसका लागि लगानी थप्ने बताउँदै सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा अबको गन्तव्य हुनु पर्नेमा जोड दिनुभयो । दैनिक जीवनमा प्रयोग गर्ने खालको शिक्षाले शिक्षालयको वातावरण, विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्ने भएकोले आफू पनि क्याम्पससँग सहकार्य गर्न तयार रहेको बनाउनुभयो ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष विनोद तिमल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस प्रमुख प्रताप कार्कीले क्याम्पसका गतिविधि र भावी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बेथानचोक गाउँपालिका पूर्व अध्यक्ष प्रेम बहादुर तिमल्सिना, प्राध्यापक संघ बागमती प्रदेश सह–संयोजक, सह प्राध्यापक काभ्रे बहुुमुखी क्याम्पसका अध्यापक माधव प्रसाद तिमल्सिना, अग्रज पत्रकार तथा काभ्रे बहुमुखी क्याम्पसका सह प्राध्यापक इश्वरी ओझा,संस्थापक क्याम्पस प्रमुख एवं पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द शर्मा लगायतले क्याम्पसको प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, बेथानचोक गा.पा. वडा नं. २ को अध्यक्ष, एवम् क्याम्पसका स्व.वि.यु. सभापति, पुरुषोत्तम तिमल्सिना वडा नं. १ को अध्यक्ष मधुसुदन तिमल्सिना, वडा नं. ५ को अध्यक्ष राजकुमार वाईबा, बेथानचोक गा.पा. वडा नं. ६ को अध्यक्ष विष्णु तामाङ, विभिन्न वडाका सदस्यहरु, जग्गा दाता, चन्दा दाता, अभिभावक, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वी.एड तथा वि.वि.एस. उत्तीर्ण विद्यार्थीहरु, जग्गा दाता, चन्दा दाता, पूर्व अध्यापक, वर्ष शिक्षक लगायतका विधामाहरुमा सम्मान गरिएको थियो ।
बेथानचोक गाउँपालिका वडा नं. ४ का किसानहरुलाई सुन्तला खेती सम्बन्धि २ दिने तालिम प्रदान गरिएको छ ।
गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा ४० जना किसानहरुलाई उक्त तालिम दिइएको कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले जानकारी दिनुभयो । गाउँपालिकाको सुन्तला प्रवद्र्धन कार्यक्रम अन्र्तगत वडा नं. ४ को सभाहलमा दिइएको तालिममा कृषि विकास कार्यालय काभ्रेकी बाली संरक्षण अधिकृत रमा कार्की र बागबानी विकास केन्द्र पाँचखालका अधिकृत उमेश सापकोटाले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रमबारे प्रष्ट पार्दै बेथानचोक गाउँपालिका वडा नं. ४ का अध्यक्ष कृष्ण बहादुर लामाले बगैंचामा बोटहरु सुक्ने, मर्ने फलको गुणस्तरमा कमी आउने जस्ता समस्या किसानले भोग्नु नपरोस, सुन्तलाजात फलफूलको स्वस्थ बगैंचावाट राम्रो उत्पादन दिंदै आइरहेको बोटहरुले केही वर्ष पछि नै रोग ग्रस्त लक्षणहरु देखाई क्रमिक रुपले फल सानो हुने भै उत्पादन घट्ने र केही वर्ष पछि नै बगैंचा अनुत्पादित हुने र बोट मर्न सक्ने हुँदा किसानलाई समयमै जानकारी गराउन गाउँपालिकाले तालिमको आयोजना गरेको बताउनुभयो ।
बेथानचोक गाउँपालिका कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बगैंचाको स्थापना भएको स्थानको भौगोलिक विशेषता, स्याहार–सम्भार, मल–जल, रोग–किरा आदि राम्रो ब्यवस्थापन गरे किसानले सुन्तला खेतिबाट राम्रो लाभ लिन सक्ने बताउनु भयो । उहाँले सुन्तलाजात फलफूल बगैंचामा देखा पर्ने यस प्रकारको समस्या नै सुन्तलाजात फलफूल बगैंचा मासिएर जाने कारण भएको हुँदा गाउँपालिकाले यस क्षेत्रमा किसान सचेतिकरण गर्दै आइरहेको बताउनु भयो । उहाँले सुन्तलाका लागि बेथानचोकको वडा नं. ४ र आसपासका क्षेत्र उर्वर भएका कारण किसानले सुन्तालाको खेतिमा मिहेनत गर्दा राम्रो लाभ लिन सक्ने बताउनुभयो । उहाँका अनुसार फल झर्ने समस्या न्यूनिकरणका लागि गाउँपालिकाको कृषि शाखा र वडाले किसानलाई किटनाशक औषधि र बिरुवाका लागि प्रोटिन ब्रेट वितरण गरिरहेको छ । यस्तै सुन्तला खेति बगैचा निर्माणका लागि आगामी असारमा ५ हजार बिरुवा किसानहरुलाई बाड्ने तय गरिएको पनि उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले गत वर्ष पनि किसानहरुलाई प्रोटिन ब्रेट वितरण गरेको थियो ।
बेथानचोक गाउँपालिकामा काभ्रेपलान्चोक जिल्ला अदालतको आयोजनामा “समुदायमा अदालत सम्बन्धि कार्यक्रम” सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै काभ्रे जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालले न्याय सम्पादनमा बेथानचोक गाउँपालिका जिल्लाकै अग्र स्थानमा रहेकोमा धन्यवाद दिँदै अरू पालिकाहरूले पनि बेथानचोकको अनुसरण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा उहाँले सहभागीहरूको कानुनी समस्य समाधान गर्ने कानुन उपायहरू प्रस्तुत गर्नु भएको थियो । उहाँले प्रस्तुत कार्यक्रममा अदालतबाट न्यायिक समितिको अनुगमन तथा निरीक्षण हुँदा न्यायिक कामकाज कार्यविधीगत रूपमा ऐन नियमको पालन गरी काम कारबाही भएकोप्रति प्रशंसासमेत गर्नुभयो ।
कार्यक्रमकै क्रममा काभ्रे जिल्ला अदालतका श्रेस्तेदार कर्णबहादुर राईले समुदाय–अदालतसम्बन्धि प्रशिक्षण दिनु भएको थियो । जसमा कार्यपालिका सदस्य, मेलमिलापकर्ता र अन्य सरोकारवालाहरूको उपस्थित रहेको थियो । काभ्रे जिल्ला अदालतका अन्य उपस्थित कर्मचारीहरूसमेतले उक्त कार्यक्रममा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला अदालतबाट न्यायिक समितिको अनुगमन तथा निरीक्षण गर्न आउनु भएका न्यायाधीश नेपालको नेतृत्वमा सहभागीलाई गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले स्वागत गर्नु भएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक तारा राना तिमल्सिनाले जिल्ला अदालतबाट हुने अदालती काम कारवाही र प्रक्रियाबारे स्थानीय तहमै आएर जिल्ला अदालत काभ्रेपलाञ्चोकले गरेको कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले यस प्रकारका कार्यक्रमहरूले सहजै कानुनी पहुँचको जानकार नभएका व्यक्तिहरूले पनि मेसो पाउने भएकोले कार्यक्रम फलदायी रहेको जीकिर गर्नुभयो । उहाँले न्यायिक समितिको निरीक्षण र सुपरीवेक्षण गरी गाउँपालिकाले गरेको राम्रो काम र अभ्यासले प्रशंसा पाएकोप्रति खुशी व्यक्त गर्नुभयो । गाउँपालिकाका सबै वडाहरूले गाउँपालिकाको न्यायिक समितिबाट सहज ढंगले सेवा पाएको पनि बताउनुभयो ।
बेथानचोक गाउँपालिकामा चालु वर्षमा न्यायिक समितिमा कूल २६ वटा मुद्दा दर्ता भएकोमा २२ वटा फछ्र्यौट भएको र ४ वटा मुद्दा चालु रहेको गाउँपालिकाका न्यायिक शाखा प्रमुख श्रीकृष्ण तिमल्सिनाले जानकारी दिनुभयो ।





